नागरिकता बन्द गरिएपछि विराटनगरमा प्रर्दशन

नागरिकता बन्द गरिएपछि विराटनगरमा प्रर्दशन

२६ चैत २०७५,विराटनगर
जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानकालागि खुला गरिएको नागरिकता वितरणमा रोक लगाइएपछि विराटनगरमा प्रर्दशन भएको छ । नागरीकता पीडित संघर्ष समितिको अगुवाईमा प्रर्दशन भएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन गएकाहरुले नागरिकता वितरण कार्य रोकिएपछि विराटनगरमा जुलुस प्रदर्शन गर्नुका साथै केही बेर चक्काजाम गरेका छन् । जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई नागरिकता दिने गृह मंत्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरेर बैशाख ४ गते सम्मलाई नागरिकता वितरण कार्य रोकेको छ ।

नागरिकता दिने प्रक्रिया रोकिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रदर्शन गर्दै निस्किएका सेवाग्राहीहरुले भट्टी मोडमा केही बेर चक्का जाम गरेका थिए । उनीहरुले प्रधानमन्त्री र सरकारविरुद्ध समेत नारावाजी गरेका थिए । संघर्ष समितिका मोरङ अध्यक्ष इसान खानले सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मानगर्दै आफुहरु पुर्ण फैसलाको प्रतिक्षामा रहेको बताए । उनले नागरिकता पाउनुपर्ने आफुहरुको मागलाई दबाबमुलक कार्यक्रमका साथ अघि बढाउने समेत बताए । गृह मन्त्रालयले चैत्र १९ गते जन्मका आधारमा नागरिकता पाएका बाबु र आमा दुबै जनाको नागरिकता लिएर आउने व्यक्तिलाई नागरिकता दिन ७७ वटा जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो । निर्देशन आए लगत्तै जिल्ला प्रशासन कार्यालय मोरङले टोकन प्रणाली लागू गरेर नागरिकता वितरण प्रक्रिया थालेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.