काठमाडौँ, चैत ३०
यस वर्ष नेपाली फिल्मको लागि सुखद् भएन । तीन फिल्म सुपरहिट हुन सफल हुँदा आधा दर्जन फिल्मले जेनतेन लगानी उठाए । नेपाली फिल्मको व्यापार ओरालो लाग्न थालेको र दर्शक हराएको चर्चा भइरहँदा चैतको अन्तिम शुक्रवार प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले भने आशा देखाएको छ । फिल्मले पहिलो दिन बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ ।
पहिलो दिन फिल्मले बम्पर ओपनिङ गरेको वितरक मनोज राठी बताउँछन् ।उनले फिल्मको ‘फस्ट डे’ अकुपेन्सी ‘छक्का पञ्जा ३’ कै आसपास रहेको दाबी गरका छन् । राठीले भने , ‘फिल्मले नसोचेको ओपनिङ गरेको छ । सिंगल स्क्रिनसँगै मल्टीप्लेक्स कहीँ कतै बिहानदेखि दर्शकको उपस्थिति न्यून देखिएन । यो ‘छक्का पञ्जा ३’ पछिकै बम्पर ओपनिङ हो ।’
मध्यमवर्गीय दर्शकको अत्याधिक चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हल बिहानैदेखि हाउसफुल रहेको र मल्टीप्लेक्स क्यूएफएक्स चेनमा मात्र फिल्मको अकुपेन्सी बिहानदेखि ८० प्रतिशतमाथि रहेकोवितरक राठीको भनाई छ ।
फिल्मले भोली शनिबार र नयाँ वर्षको दिन आइतबार पहिलो दिनको तुलनामा चार गुणा राम्रो व्यापार गर्ने उनको विश्वास छ । पहिलो दिन नै फिल्मले आक्रामक सुरुवात गरेपछि मल्टीप्लेक्सहरुले आइतबारबाट सोजमा पनि वृद्धि गरेका छन् । सिंगल थिएटरहरु पनि बिस्तारै बढ्ने राठी बताउँछन् । उनले फिल्मको पहिलो दिने कलेक्सन शनिबार दिउँसो थाहा हुने बताए ।
फिल्म ‘क्याप्टेन’ ले अपेक्षाकृत ओपनिङ गर्न चुकेपछि धेरैले अभिनेता अनमोल केसीको स्टारडममाथि प्रश्न उठाएका थिए । ‘ए मेरो हजुर ३’ को बम्पर ओपनिङले उनको स्टारडममाथि शंका गर्नेलाई पनि गतिलै जवाफ फर्काएको छ । मध्यान्तरअघि दर्शकलाई हँसाउनकै खातिर राखिएको दोहोरो अर्थ जनाउने संवादका कारण भने फिल्मको राम्रै आलोचना भइरहेको छ । यद्यपि, दर्शकको ठूलो वर्गलाई भने फिल्म मनपरेको छ । समीक्षकबाट फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ ।
फिल्म हेर्ने अधिकांश दर्शकले डेब्यू गर्ल सुहाना थापाको तारिफ गरेका छन् । झरना थापा निर्देशित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । सलोन बस्नेत, अर्पण थापा, सरोज खनाललगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।(फिल्मि खबरबाट)









