काठमाडौँ,बैशाख १
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘मासु भात’ को टिजर सार्वजनिक भएको छ ।फिल्मको टिजर यसअघि सार्वजनिक हुँदै आएका फिल्मका टिजरभन्दा यो केही पृथक छ ।
अफस्क्रिन जोडीको रुपमा रहेका यो जोडीलाई टिजरमा सौगातलाई कैदी र सृष्टिलाई पुलिसको भूमिकामा देखाइएको छ ।१ मिनेट १५ सेकेण्ड छोटो टिजरमा जेलभित्र सौगात मौन देखिएका छन् । भने, पुलिसको बर्दीमा सृष्टि पत्रमा लेखिएका कुराहरु पढ्दै देखिएकी छन् । दुईबाहेक टिजरमा अरुलाई स्थान दिइएको छैन ।
न त कसैले संवाद नै बोलेका छन् । टिजरले फिल्मप्रति दर्शकमा उत्सुकता जगाउने देखिन्छ । सञ्जिव कुमार न्यौपाने निर्देशित यो फिल्मको कथा लेखक न्यौपानेले लेखेका हुन् । सौगात र सृष्टिका अलावा फिल्ममा पुर्णिमा तामाङ, रेअर राईलगायतका कलाकारहरुको पनि अभिनय छ । यसको पटकथा प्रशान्त रसाइलीले लेखेका हुन् ।
दुर्गम गाउँकी बालिकालाई मानव तस्करले वेश्यावृत्तिमा लगाएको र पछि बालिकाको अंग बेच्ने प्रयास भएपछि त्यस बालिकाले गर्ने संघर्षसँगै बेपत्ता बहिनीको खोजीमा रहेको दाईको भुक्तभोगाइमा ‘मासु भात’ आधारित छ । बेचिएकी बहिनीको दाईको भूमिका सौगातले निभाएका छन् । उनी यस फिल्मबाट पहिलो पटक निर्माताको रुपमा पनि आउँदैछन् । यस फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।









