विराटनगर, बैशाख ५
जिल्ला प्रहरी कार्यालय मोरङमा कलर कोडेड कार्ड सेवा सुरु गरिएको छ । कलर कोडेड सेवा प्रवाह अन्तर्गत रङका माध्यमबाट सेवाग्राहीहरुलाई उनीहरुको गुनासो र उजुरीका आधारमा सम्बन्धित शाखामा पुग्न सजिलो हुनेछ । अब सेवाग्राहीलाई रंगिन पूर्जा दिइने छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा बुधबार आयोजित कार्यक्रमकाबीच एक नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजी केदार रिजालले सेवाको उद्घाटन गरे । एक नम्बर प्रदेशका प्रहरी कार्यालयहरु मध्ये पहिलो पटक पाइलट प्रोग्रामका रुपमा जिल्ला प्रहरी कार्यालय मोरङमा सुरु गरिएको यो सेवा अन्तर्गत सेवाग्राहीहरुले रंगका आधारमा सेवा लिने छन्

उजुरी वा गुनासो अनुसार रंगिन पूर्जा पाउने र रंग अनुसार कै कोठामा सजिलै पुग्न सक्ने बताइएको छ । यसबाट पढ्न नसक्ने सेवाग्राहीहरुलाई बढी फाइदा पुग्ने मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।