विराटनगर, वेशाख २२
प्रदेश नम्बर १ को स्थायी राजधानी र नामको विषयमा घनीभूत छलफल चलिरहदा धरानलाई प्रदेश राजधानी घोषणा गर्न माग गर्दे विराटनगरमा सिठी जुलुस निकालिएको छ ।
धरानलाई प्रदेश १ को स्थायी राजधानी तोक्न माग गर्दै धरानबासीले विराटनगर स्थित प्रदेशसभा भवन अगाडि सिठी जुलुस निकालेका हुन् । धरानबाट आएका धराने जनताले राजधानीका लागि खबरदारी गर्दे प्रदर्शन गरेका छन् ।
सबै राजनीतिक दलको अगुवाइमा धरानबाट आएका विभिन्न दलका कार्यकर्ता र संघसंस्थाका प्रतिनिधि प्रदर्शनमा सहभागि रहेका थिए । प्रदेश नम्बर १ को राजधानी र प्रदेशको नामाकरणको बहस टुङ्गोमा पुग्नै लाग्दा धरानले राजधानीको माग गर्दै चरणबद्ध आन्दोलनको सुुरुवात गरेको छ ।
धरान उपमहानगरपालिकाको कार्यालयमा सम्पन्न विभिन्न राजनितिक दलको बैठकले निर्णायक आन्दोलनको घोषणा गर्ने निर्णय गरेको छ । विभिन्न दलहरुका प्रतिनिधीले प्रदेशको राजधानी धरानलाई बनाउन संघर्षका चरणबद्ध बुँदाहरु प्रस्ताव गरेका थिए ।
प्रतिनिधीहरुले राखेको प्रस्ताव माथि छलफल गर्दै धरान उपमहानगरपालिकाले धरान क्षेत्रबाट विजयी भएका प्रदेशका मुख्य ओहोदामा पुगेका प्रतिनिधीहरुलाई ज्ञापन पत्रसहित धरान उपयुक्तताको आधारहरु पेश गर्ने कार्यक्रम तय गरेका छन् ।
धरानले स्थायी राजधानी बनाउनका लागि धरान सभागृह भवनसहित त्यसले आगेटेको जमिन र धरान उपमहानगरपालिकाकै नाममा २५ विघा क्षेत्रफल रहेको जमिन समेत उपलब्ध गराउने जानकारी गराईसकेको जनाएको छ ।
धरान पहाड र तराईको संगमस्थलको रुपमा रहेकाले प्रदेशको प्रशासनिक कार्य सम्पादन गर्न सहज हुने भएकाले पनि धरानमा राजधानी बनाउन उपयुक्त रहेको धरानवासीको ठम्याई छ । प्रदेशसभामा राजधानी प्रस्ताव दर्ता गर्ने दिन आइतबार धरानबाट गाडी रिजर्भ गरी आन्दोलन गर्न विराटनगर आएका हुन् ।