काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्पतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा मेरो सरकार भनेर उच्चारण गर्नुलाई उचित सम्बोधन भएको बताउनुभएको छ ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द भुलचुकले परेको नभइ सुविचारी ढंगले जानीबुझि राखेको पनि प्रष्ट पार्नुभयो । मेरो सरकार भन्ने शब्दलाई मात्रै ध्यान दिइएको भन्दै यसले पहाड खनेर मुसो पनि ननिस्कने जस्तो कुरा भएको उहाँले उल्लेख गर्नुभयो । सम्माननीय राष्ट्पतिले मेरो सरकार भन्नु कुनै अचम्मको विषय नभई संसारभरको अभ्यास अनुसार नै भएको पनि प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा यस्तो नभएको तर विगतका नमिलेका कतिपय कुराहरुलाई मिलाउँदै अघि बढेको भन्दै अन्तरराष्ट्रिय अभ्यास अनुसार नै यस्तो सम्बोधन भएको बताउनुभयो । उहाँले राष्ट्रपति देशकै अभिभावक रहेकाले आफूभन्दा मातहतको सरकारलाई मेरो सरकार भन्नु नाजायज नरहेको स्पष्ट पार्नुभयो । लोकतन्त्रमा मेरो सरकार भन्न पाईँदैन भन्ने नभई लोकतन्त्रमा हामी सबैको सरकार हो भन्न पाउने विधि स्थापित गर्न खोजेको उहाँले बताउनुभयो ।