काठमाडौँ, बैशाख २५
निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ हिन्दू परम्पराअनुसार बैबाहिक जीवनमा बाँधिएका छन् । दिवाकरले मंगलवार सिन्धुलीबाट धनगढी पुगेर दीपिकाको सिउँदो भरेका हुन् । उनीहरुले केही वर्ष अगाडि नै कागजी विवाह गरिसकेको भएपनि यसको जानकारी दुई पक्षका परिवारबाहेक कसैलाई थाहा थिएन ।
दीपिका र दीवाकरको विवाहको मण्डपको एक तस्बिर बाहिर आएको छ । दुलहा–दुलहीको पहिरनमा दुबैलाई निकै सुन्दर देखिएको छ । दुबै निकै खुसी पनि देखिएका छन् । तस्बिरमा दुईले एकअर्काको हात समातेका छन् । विवाह समारोहमा दुई पक्षका आफन्तहरुको बाक्लो उपस्थिति थियो । फिल्मकर्मीहरु भने खासै उपस्थिति थिएनन् ।
यो जोडीले केही दिनमा राजधानीमा ग्रान्ड रिसेप्सन पार्टी दिन लागेको जानकारी प्राप्त छ । दीपिकाको डेब्यू फिल्म ‘ऐश्वर्य’ को सेटबाट उनीहरुको प्रेम अंकुराएको थियो । ‘ऐश्वर्य’ का निर्देशक थिए दीवाकर । फिल्मको छायांकन सकिए लगत्तै उनीहरुले अदालतमा गएर कागजी विवाह गरेका थिए । भने, गएको फागुनमा दुईले इन्गेजमेन्ट गरेका थिए ।
दीवाकर लभस्टोरी फिल्म बनाउन सिपालु मानिने निर्देशक हुन् । । ‘ऐश्वर्य’ सँगै उनले स्टुपिड मन, क्याप्टेन फिल्म निर्देशन गरिसकेका छन् । उनी चाँडै एक लभस्टोरी फिल्ममा आफ्नी श्रीमतीको जोडी अभिनेता आर्यन सिग्देलसँँग बाँध्दैछन् । दीपिका अहिले फिल्म ‘हेल्लो जिन्दगी’ मा व्यस्त छिन् । उनले ‘छक्का पञ्जा ३’ मा पनि मुख्य नायिकाको रुपमा काम गरेकी छिन् ।









