सरकारले संसदमा दर्ता गराएको ‘मिडिया काउन्सिल विधेयक’प्रति साझा विवेकशील पार्टीले गम्भीर आपत्ति जनाएको छ । नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूतिविरुद्ध मिडियालाई नियन्त्रण गर्ने अभिप्रायले विधेयक ल्याउन लागेको भन्दै साझा विवेकशीले आपत्ति जनाएको छ । ‘मिडिया काउन्सिल विधेयक’ बारे आफ्ना विचार राख्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक रवीन्द्र मिश्रले सरकारले नेपाली मिडियालाई नियन्त्रण गर्न चाहेको बताउनुभयो । उहाँले नेपाली प्रेसले प्राप्त गरिसकेको हक र अधिकार कुण्ठीत गराएर सरकारका अकर्मण्यता, वेथिति र भ्रष्टाचारलाई मलजल गर्ने प्रयासविरुद्ध खबरदारी गरिरहेको नेपाली मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्टा ‘अनुदार लोकतन्त्र’ उन्मुख छ भन्ने ठहर रहेको बताउनुभयो । राष्ट्रियता, जनजीविका, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको सवालमा बर्तमान सरकारको डेढ वर्षे कार्यकाल अत्यन्त निराशाजनक, बदनामपूर्ण र अलोकप्रिय भएको परिप्रेक्षमा सरकार आफ्ना असफलताको ढाकछोप गर्न चाहेको पनि साझा विवेकशीलले आरोप लगाएको छ ।