जेठ २ विराटनगर
राष्ट्रिय आदिवासी जनजाति महासंघले यही जेठ ४ गते विराटनगरमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ । राष्ट्रिय आदिवासी जनजाति महासंघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी राष्ट्रिय महाधिवेशन गर्ने जनाएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष चन्द्रसिंह कुलुङले ४४ वटा जातिलाई आदिवासी जनजातिमा सुचिकृत नगरेको भन्दै दुखेसो गरे । उनले आदिवासी जनजातिमा सुचिकृत नभएकाहरु ४४ जाति नै महाधिवेशनमा भेला हुने पनि जानकारी दिए । महाधिवेशनले आदिवासी जनजातिसमबन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनको मापदण्डभित्र रहेका सबै जाति तथा समुदायहरुलाई स्थानीय, प्रदेश र संघ तिनै तहका सरकारमा आदिवासी जनजातिको सुचीमा सुचिकृत गराउनका साथै तिनीहरुको सर्वाङीण विकास कार्यहरुमा समावेशीता, सहभागिता र प्रतिनिधित्व प्रभावकारी रुपमा गराउन ठोस निर्णय गर्ने पनि उहाले जानकारी दिए । खवास, विराट राजवंशी, मुडियारी, राजधामी,कुम्हार, अमात, केवरत, खडिया गडेरी, सोनाहा, खुनाहा, रानथारु, कठरिया, थारु, कुलुङ, याम्फू, लोहोरुङ, आठपहरिया, मेवाहाङ, खालिङ, देवान, वान्त्वा, साम्पाङ, वाहिङ, थुलुङ, नाछिरिङ, चाम्लिङ, जेरुङ, डोने, पुन लगायतका जातिहरुलाई आदिवासी जनजातिमा सुचिकृत नगरिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । कार्यक्रममा बोल्दै राष्ट्रिय आदिवासी जनजाति महासंघका उपाध्यक्ष प्रदिपकुमार विश्वासले सरकारले विभेद गरेको बताए । संघीयताको संरचना अनुसार स्थानीय तहका सरकारहरुसँग समन्वय गरी आदिवासी जनजातिका अधिकारहरु कार्यान्वयन गराउने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्न महाधिवेशनले मार्ग निर्देश गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।