२९ जेठ, विराटनगर । विराटनगर महानगरपालिकामा डेंगुको संक्रमण भेटिएपछि बुधबारबाट महानगरपालिकाले मालाथिन स्प्रे छिट्ने अभियान सुरु गरेको छ । महानगर भित्र २ जनामा डेंगुको संक्रमण देखिएको छ ।
महानगरले आज बुधबार वडा नम्बर १, २, ३, र १० मा औषधि छिटेको छ । यस्तै ३० गते १, ३, ४, र १० मा, ३१ गते ४, ५, ६ र ७ मा, ३२ गते ५, ६, ८ र ९ वडामा, यसैगरी असार १ गते ८, ९, ११, र १२ नम्बर वडामा मा, २ गते ११, १२, १३, र १४ वडामा, ३ गते १४, १५, १६ र १७ नम्बर वडामा र ४ गते १८ र १९ नम्बर वडामा मालाथिन फगी स्प्रे छिटने छ । बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएकाले त्यस समय खाने कुरा छोपेर राख्न पनि महानगरले आग्रह गरेको छ । डेंगु सक्रमित लामखुट्टेले दिउँसो मात्र टोक्ने गर्दछ ।
विराटनगर महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनका अनुसार विराटनगरको वडा नम्बर १ पुष्पलाल चौक र वडा नम्बर ३ मा घर भएका व्यक्तिलाई डेंगु पुष्टि भएको छ । डेंगु संक्रमितहरुको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ । योञ्जनले विराटनगर महानगरपालिका भित्र डेगु देखिएपछि सचेतनाका साथ विज्ञसहितको टोलीले डेगु पहिचान गर्ने र नियन्त्रण गर्ने अभियान सुरु गरिएको बताइन ।