३ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफूलाई संसदमा बोल्न नदिएर अत्यन्तै असंसदीय तथा अमर्यादित व्यवहार देखाएको टिप्पनी गरेका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकनै अवरुद्ध पारेर काँग्रेसले बोल्न नदिएकोमा आफू आश्चर्य चकित भएको प्रतिक्रिया पनि दिए । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका पत्रकार सम्मेलन गरी उनले प्रधानमन्त्रीलाई बोल्न नदिने, प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने लोकतन्त्रमा कहीँ नहुने व्यवहार काँग्रेसले प्रर्दशन गरेको पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले दुनियाँको लोकतान्त्रिक अभ्यासमा, संसदीय प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बेला संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोणबारे जानकारी गराउने अभ्यास हुने उल्लेख गर्दै काँग्रेस भने त्यसको विपक्षमा उभिएको बताए ।
‘लोकतान्त्रिक अभ्यासमा पहिला प्रधानमन्त्रीले, विपक्षी दलका नेताले र त्यसपछि वरिताक्रममा बोल्ने अन्तराष्ट्रिय प्रचलन हुन्छ । हरेक कुरामा निहुँ खोज्ने तरिकामा प्रधानमन्त्रीले होइन् मैले बोल्न पाउनुपर्छ भनेर शेरबहादुर देउवाजी नै रोष्टम घेराउको नेतृत्व गरेर अघि बढ्नुभयो,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘त्यो घटनाबाट आश्चर्य चकित भए म । उहाँहरुलाई संसदीय मर्यादा थाहा हुनुपर्ने । ’