२० असार, काठमाडौं ।
ओपनर रित गौतमको शतक तथा कुशल मल्ल र खडकबहादुर बोहोराले अर्धशतक प्रहार गरेपछि जारी एसीसी यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले सिंगापुर विरुद्ध बलियो योगफल तयार पारेको छ ।
शुक्रबार मलेसियाको किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले सिंगापुरलाई ३ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय २६ रन बनायो । नेपालका लागि ओपनर रित गौतम १ सय ३७ बलमा १० चौका र १ छक्का सहित १ सय १५ रनमा अविजित रहे । रितले १ सय ३१ बलमा शतक पुरा गरेका थिए ।
तल्लोक्रममा कुशल मल्लले विश्फोटक ब्याटिङ गर्दै मात्रै २३ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहेपछि नेपालले विशाल योगफल तयार पार्न सफल भएको हो । कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का सहित २२ रन बटुलेका थिए ।
त्यसअघि १५ औं ओभरको चौथो बलमा ओपनर पवन सरार्फ आउट भएसँगै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका खडक बहादुर बोहराले उत्कृष्ट ९० रनको महत्वपूर्ण योगदान दिए । ४० ओभरको पहिलो बलमा प्रनव सुदर्शन राजेश कृष्णनले एलबी डब्लू आउट गर्नु अघि खडकले ९० बलमा १२ चौका प्रहार गरे । दोस्रो विकेटका लागि खडक र रित गौतमले १ सय ३१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपाल बलियो योगफलमा पुगेको थियो ।
नेपालका लागि ओपनर पवन सरार्फ ४५ रनमा आउट भए । १५ औं ओभरको चौथो बलमा भिनित चितेश मेहता क्याच गराउँनु अघि पवनले ४१ बलमा १० चौका प्रहार गरे । पवन र रितले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कप्तान रोहित कुमार पौडेल भने ७ रनमा क्याच आउट हुन पुगे । सिंगापुरका लागि प्रनव सदर्शन राजेश कृष्णन र भिनित चितेश मेहताले समान २ विकेट हात पारे ।