२६ असार, काठमाडौँ ।
मलेसियामा सम्पन्न एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता २०१९ को उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टोली बुधबार राती १० बजे नेपाल आईपुगेको हो । नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेश कुमार सिलवालले त्रिभूवन विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।
नेपाली टिमका कप्तान रोहित कुमार पौडेल र पवन सर्राफ भने सिनियर टिमसँग मलेसियामै बसेका छन् । सिनियर टिमले मलेसियासँग दुई वटा टि–२० खेल खेल्दैछ । रोहित र पवन सिनियर टिममा पनि छन् ।
इस्टर्न रिजन प्रतियोगिता २०१९ को उपाधि जितेसँगै एसिया कपमा छनोट भएको हो । एसीसी यू–१९ एसिया कप श्रीलंकमा हुँदैछ । फाइनलमा हङकङलाई पराजित गर्दै उपाधि जितेको नेपालले आगामी अगष्टमा श्रीलंकामा हुने एसिया कपमा एसियाका ठूला राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले एसीसी यू–१९ एसिया कपमा छनोट भएपछि नेपालले यस अवसरलाई गम्भीर रुपमा लिएको बताएका छन् ।
प्रशिक्षक दासले एसिया कपका लागि टोलीमा केहि परिवर्तन हुनसक्ने जानकारी दिए । ‘एसिया कप हाम्रो लागि ठूलो अवसर हो । हामी यसमा अब सहभागिता मात्र नभएर केहि लक्ष्यसाथ मैदानमा उत्रनेछौं । विश्वकपमा छनोट हुन नसकेको अवस्थामा एसिया कपमा नतिजा ल्याएर हामी सिद्ध पार्न चाहन्छौं,’ उनले भने ।