२८ असार, विराटनगर ।
विवाहको बिषयमा विवाद हुंदा विराटनगर १४ का सेमानन्द यादवलाई मरणासन्न हुनेगरि कुटेका कारण मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै आफन्तहरुले प्रदर्शन गरेका छन् । मृतकका आफन्तले शनिबार विराटनगरको कोशी अन्चल अस्पताल अगाडी प्रदर्शन गरेका हुन् ।
कुटपिट गरिएको भनिएका सेमानन्दको शुक्रबार मृत्यु भएपश्चात उनीहरुले शुक्रबार पनि शवसहित प्रदर्शन गरेका थिए । घटनामा संलग्नलाई पक्राउ गर्न र पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै अस्पताल अगाडी सडकमा प्रदर्शन गरेपछि सडक समेत अवरुद्ध भएको छ ।

कोशी अस्पतालमा उपचाररत यादवको बिहीबार राती सवा ९ बजे मृत्यु भएको थियो । मृतकका आफ्न्तले घटनाको बिषयमा मुद्धा दर्ता भएको लामो समय वितिसक्दा समेत प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न आनाकानी गरिरहेको बताएका छन । जिल्ला प्रहरी कार्यालय मोरंङले सो घटनाका विपक्षीहरुबिरुद्ध ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता गरेको जनाएको छ ।

सो घटनामा पीडित पक्षले विराटनगर १४ का वडाध्यक्ष बलदेव यादव सहितका अन्य ब्यक्तिहरु बिरुद्ध ज्यानमार्ने उद्योगमा मुदा दर्ता गराएको छ ।आफुले रोजेको केटीसंग छोरोले विवाह गर्न नमानेपछि जेठ ३२ गते विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवको घरमा भएको पंचयतीको क्रममा उनलाई कुटपीट गरिएको पीडित पक्षको आरोप छ । सो क्रममा उनको सर्भाइकल स्पाइनमा गम्भीर चोट लागेको पीडित पक्षले जनाएको छ । यता सो घटनामा आफ्नो संलग्नता नरहेको भन्दै विराटनगर १४ का वडाध्यक्ष बलदेवले प्रेस विज्ञप्ति जारी गर्दै खन्डन गरिसकेका छन ।