भारतको एकतर्फी बाँधका कारण तराईमा डुबान

१३ साउन, काठमाडौँ ।
संसदीय समितिले छिमेकी मुलुक भारतबाट एकतर्फी रुपमा निर्मित बाँधका कारण तराई क्षेत्रमा डुबान भएको निष्कर्ष निकालेको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले देशका विभिन्न गएको बाढी, पहिरो र डुबानको स्थलगत अनुगमन भ्रमण गरी तयार पारेको प्रतिवेदनमा भारतद्धारा निर्मित बाँधका कारण तराई क्षेत्रमा डुबान भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।

Advertisement

प्रतिवेदनमा चुरेमा भएको जथाभावी दोहन र विनाशका कारण पनि तराईका जिल्लाहरु डुबानमा पर्ने गरेको उल्लेख गरिएको समितिकी उपसचिव बबिता मिश्रले जानकारी दिइन । सोमबार समितिको बैठकमा पेश गरिएको सो अध्ययन प्रतिवेदनले नदीनालाको बाँध, सडकको कल्भर्टहरुको निर्माण परिपक्व नभएका कारण पनि तराईमा डुबानका कारण ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नु परेको पनि स्पष्ट पारिएको छ । नदीनाला र खोलाको ढुंगा, गिटी र बालुवाको वैज्ञानिक रुपमा उत्खनन् नभएका कारण पनि बाढी र डुबानको समस्या बढेर गएको निष्कर्ष पनि समितिमा उल्लेख गरिएको समितिकी उपसचिव मिश्रले बताइन् ।

प्रतिवेदनले बाढी, पहिरो र डुबानबाट पीडितलाई तत्काल उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिन सिफारिस गरेको छ । त्यसैगरी क्षति भएका घरजग्गा तथा सम्पत्तिको बस्तुगत र यथार्थ विवरण तयार गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझाव पनि प्रतिवदेनमा उल्लेख गरिएको समितिकी उपसचिव मिश्रले बताइन् । प्रतिवेदनमा अझै पनि बाढी, पहिरो र डुबानको समस्या रहेको उल्लेख गर्दै त्यसका लागि उद्धार टोलीको उचित व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिनुपर्ने भनिएको छ ।

Advertisement

संसदीय समितिले प्रभावित जिल्लाहरुमा पुगेर तयार पारेको सो स्थलगत अध्ययन प्रतिवेदनमा तराईको डुबान समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग उच्च स्तरीय कूटनीतिक पहल गर्न पनि सरकारलाई सचेत गराउनुपर्ने निष्कर्ष निकालिएको छ । समितिमा पेश गरिएको सो स्थलगत अध्ययन प्रतिवेदन अध्ययन गरी समितिका सदस्यहरुले थप सुझाव दिएपछि सरकारलाई सो सम्बन्धमा आवश्यक निर्देशन दिने समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top