काठमाडौँ । गत आव २०७५/७६ मा २ सय ८७ मेगावट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुन सकेन । २० वटा जलविद्युत आयोजनाहरुबाट २ सय ८७ मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सरकारले सोचेअनुरुपको उपलब्धी हासिल गर्न नसकेको हो ।
गत आवमा १ सय ४३ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जोडेको छ । विद्युत विकास विभागकी सूचना अधिकारी निशा रिजालले व्यावसायिक विद्युत उत्पादन अन्तर्गत चार वटा जलविद्युत आयोजनाहरुबाट करिब ४० मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जोडिएको बताइन् ।
२२ मेगावाटको बाग्मती साना जलविद्युत आयोजना, ८.८ मेगावटको रुदी ए जलविद्युत आयोजना, ७.८ को सुपरमाई जलविद्युत आयोजना र ३.३३ मेगावाटको कापडी गाड जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रि प्रशारण लाइनमा जोडिएको छ । लक्ष्य अनुरुपको विद्युत उत्पादन हुन सकेन, सूचना अधिकारी रिजालले भनिन्-‘विद्युत कम हुनमा ट्रान्समिसन लाईन बनिसकेको छैन, ट्रान्समिसन लाईन नभएपछि हाइड्रोपावरको प्रोगेस पनि कम भयो, सोचे अनुरुपको लक्ष्य भेटाउन सकिएन ।’
नेपाल सरकारले चालु आवमा पनि ३३ वटा जलविद्युत आयोजनाहरु सञ्चालन गर्ने योजना बनाएको छ । जसबाट १ हजार ३६ मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । उर्जा, जलस्रोत तथा सिचार्इँ मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीले प्रोजेक्ट निर्माणमा गरेको पूर्वानुमान नमिलेर लक्ष्य अनुसारको विद्युत उत्पादन नभएको बताए ।
गत आवमा सम्पन्न भएका आयोजनाहरुमा २५ मेगावाटको शिवाखोला सानो जलविद्युत आयोजना, ३०.२ मेगावाटको तल्लो हंगुखोला साना जलविद्युत आयोजना, २१.४ मेगावाटको इन्खुखोला साना जलसविद्युत आयोजना, ४७ मेगावाटको दुधकोशी ४ जलविद्युत आयोजना, १५.२५ मेगावाटको जावाखोला जलविद्युत आयोजनाहरु रहेका छन् ।
यस्तै ४ सय ५६ मेगावाटको उपर तामाकोशी, ४० मेगावाटको खानीखोला, १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, २३.५ मेगावाटको सोलु जलविद्युत आयोजना सहित ३३ वटा जलविद्युत आयोजनाहरु यस वर्षमा निर्माण गरी सक्ने सरकारको लक्ष्य रहेको छ । तर, गत आवमा लक्ष्य पूरा गर्न नसकेको अवस्थामा चालु आवमा पनि लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्न सकिन्छ ।
गत आव २०७५/०७६ मा सरकारले करिब १ अर्ब ४९ करोड ४१ लाख ९७ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ ।विकासन्युज

