साउन २१, काठमाडौं । उद्योग सचिव यामकुमारी खतिवडा अनुपस्थित भएपछि ह्वासिङ सिमेन्टबारे छलफल गर्न मंगलबार बोलाइएको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।
चिनियाँ लगानीमा निर्माणाधिन सो सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न मंगलबार सिंहदरबारमा बोलाइएको बैठक उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी अनुपस्थित भएका कारण स्थगित गरिएको हो ।
समितिले जानकारी समेत नदिई बैठकमा अनुपस्थित हुनु भएका उद्योग सचिव खतिवडासँग स्पष्टिकरण पनि लिने भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले तराईमा रहेका कारण आफू बैंठकमा आउन नसकेको जानकारी समितिलाई दिएपनि सचिव खतिवडाले नदिएकाले उहाँमाथि स्पष्टिकरण सोध्ने निर्णय गरिएको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए ।
चिनियाँ लगानीमा धादिङको रोराङ गाउँपालिकामा निर्माणाधिन सो कम्पनी विवादमा तानिएपछि गठित समिति अन्तरगतको उपसमितिले तयार परेको प्रतिवेदनमा उठाइएका विषयबारे सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी अधिकारीसँग विस्तृत छलफल गर्ने कार्यसूचि तय गरिएको थियो ।
सांसद लेखराज भट्ट नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा सो उद्योग स्थापनाका लागि ५० वर्ष जग्गा भाडामा लिने सम्झौता तत्काल रद्द गर्नुपर्ने सिफारिस गरिएको छ ।
त्यस सम्बन्धमा सरोकारवाला निकायसँग विस्तृत छलफल गरेपछि सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ ।
सचिव पाण्डेले समितिको अर्को बैठकमा उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई पुनः बोलाएर सो सम्बन्धमा विस्तृत छलफल गर्ने बताए ।