२१ साउन, काठमाडौँ ।
चर्चित हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । टेलिभिजन र युटुबमा राम्रो दर्शक बटुल्न सफल यो हाँस्य सिरियलले नयाँ आर्थिक बर्ष लागेसँगै प्रसारण रोकेको हो । भद्रगोल हरेक शुक्रबार प्रसारण हुँदै आएको थियो ।
यो सिरियल रोकिएपछि टिमले दर्शकको गाली पाइरहेको छ । आखिर किन रोकियो त ‘भद्रगोल’ ? श्रृखला निर्देशक दीपक आचार्यका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने भएपनि अहिलेसम्म नविकरण भएको छैन । उनले भने ‘ आन्तरिक कुराहरु नमिलेकाले हामीले सिरियल प्रशारण गर्न नसकेका हौं । मिडिया हवसँग सम्झौता भएसँगै सिरियल पुन प्रशारण हुन्छ ।’
अहिले ‘भद्रगोल’को कुनै पनि श्रृङ्खला छायांकन भएको छैन । संझौता भएपछि मात्र नयाँ भाग छायांकन गर्ने दीपकको भनाई छ । नियमित दर्शकले गरेको गाली पनि गुनासो र मायाको लागि भएको दीपकको तर्क छ । यसअघि पनि आर्थिक कुरा नमिल्दा ‘भद्रगोल’को प्रशारण पटक– पटक रोकिदै आएको थियो ।