साउन २९, विराटनगर । अस्थायी शिक्षकहरुले पुर्नबहालीको माग गर्दै विराटनगरस्थित प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि दिंदै आएको धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
यसअघि साउन १४ गतेदेखि १७ गतेसम्म सोही ठांउमा धर्ना दिएका उनीहरुले मुख्यमन्त्रीबाट आश्वासन पाएपछि १७ गतेबाट ७ दिनकालागि धर्ना कार्यक्रम स्थगन गरेका थिए ।
मुख्यमन्त्री शेरधन राईले अस्थायी शिक्षकहरुको समस्याको बिषयमा केन्द्रबाट थप जानकारी लिने र समस्या समाधानको पहल गर्ने आश्वासन दिएपछि तत्कालका लागि धर्ना स्थगन गरिए पनि त्यो पूरा नभएपछि फेरी पनि २५ गतेबाट धर्ना कार्यक्रमलाई निरन्तरता दिइएको आन्दोलनरत अस्थायी÷करार शिक्षक आन्दोलन समितिले जनाएको छ ।
समितिका प्रदेश अध्यक्ष योगन्द्रप्रसाद यादवले २० औं बर्षसम्म सेवा गरेका शिक्षकलाई यो अवस्थामाआएर अवकास दिने कुरा आफुहरुलाई मान्य नरहेको बताए । उनले देशभरिका सम्पुर्ण अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई कामगर्ने अवसर दिनुपर्ने माग गरे ।
यसैबीच धर्नामा बसेका शिक्षक शिक्षिकाहरुले सडक किनारमा पाल टांगेर धर्नामा बस्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले पाल टांग्न नदिएपछि उनीहरु मुख्यमन्त्री कार्यालय पुर्वपट्टि नाला माथिको स्ल्याबमा धर्ना बसेका छन । प्रदेश १ मा २४ सय बढी र मोरंङमा ३ सय बढी अस्थायी शिक्षक रहेको जनाइएको छ ।