३१ साउन, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीले पार्टीका विभिन्न विभागको नेतृत्व गर्नेहरूको नाम टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन् । लामो रस्साकस्सी भएको स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले पाएका छन् । सचिवालय सदस्य माधवकुमार नेपाल विदेश विभाग प्रमुख बनेका छन् ।
राम कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ । नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाएका छन् । त्यस्तै नेता वामदेव गौतमलाई संगठन विभाग प्रमुख बनाइएको छ । पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले प्रचार विभागको जिम्मा पाएका छन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थ तथा योजना प्रमुख बनाइएको छ ।