६ भदौ, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आफु र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन् ।
सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यस बारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह गरे ।
विषयवस्तु माथिको बुझाईमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भईरहने भन्दै उनले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिए ।
झगडा भयो भनेर वैबाहिक जीवन प्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिमा पनि भागेर नभई समस्यासंग जुध्दै र सामाना गर्दे अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।
नेता नेपालले पारिवारिक , राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राखे । उनले ‘फुलको आँखामा फुलै संसार, काडाको आखैमा काडा संसार ’भन्ने गीतको दृष्टान्त दिदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए ।