१० भदौ, एजेन्सी ।
परिवेश र परिस्थिति सही भए आफू इरानका राष्ट्रपति हसन रुहानीसँगको भेटका लागि खुला रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
फ्रान्समा भएको जी सेभेन राष्ट्रका नेताहरुको सम्मेलनको क्रममा इरानका विदेश मन्त्रीले छोटो र पूर्व घोषणा नगरिएको भ्रमण गरेपछि ट्रम्पको यस्तो भनाई आएको हो ।
अमेरिका र इरानबिचको सम्बन्ध हाल अति तनावको अवस्थामा छ । सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका गएको वर्ष बाहिरिएसँगै दुई देशको सम्बन्ध थप बिग्रिएको हो । सो सम्झौताले इरानको प्रमाणु कार्यक्रमलाई सीमित गर्ने थियो । तर इरानले त्यसको उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका बाहिरियो ।
त्यसपछि इरानले पनि सम्झौतामा रहिरहन आफू बाध्य नहुने बतायो । दुवै देशले एकअर्कालाई निशाना बनाएर विभिन्न गतिविधि गरे, जसमा रकेट खसाल्ने गतिविधि पनि परे ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ परमाणु सम्झौता गर्न सकिने र आफूलाई त्यसको सम्भावना नजर आएको बताएका छन् । उनले भनेका छन्, ‘साढे दुई वर्षअघि म सत्तामा आउँदा इरान जस्तो थियो हाल त्यस्तै देश छैन ।’
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँगको जी सेभेन पत्रकार सम्मेलनको क्रममा ट्रम्पले भने, ‘मलाई साँच्चै लाग्छ कि इरान उत्कृष्ट देश बन्नेछ‘तर उनीहरुले परमाणु हतियार राख्न पाउने छैनन् ।’
राष्ट्रपति रुहानीसँगको वार्ताका लागि आफू राजी हुनु पूर्व राम्रो तयारी हुने पर्ने र त्यसका लागि ‘गुड प्लेअर्स’ चाहिने उनले बताएका छन् ।
