विमानस्थलका कर्मचारीलाई मोबाईल चलाउन बन्देज

विमानस्थलका कर्मचारीलाई मोबाईल चलाउन बन्देज

१५ भदौ, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाईल फोनमा समेत संवाद नगर्न सचेत गराएका छन् ।

मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानविनमा रहेका सो विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी पनि दिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई सो विमानस्थलमा नराख्ने स्पष्ट पारे ।

मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कार्वाही गर्न पनि विमानस्थलका नेतृत्वलाई कडा निर्देशन दिए ।

सो विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउन सिसिटिभी क्यामेराको थप व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले सो विमानस्थल मुलुकको ईज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने पनि बताए ।

मन्त्री भट्टराईले सेवाग्राहीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पारे ।

उनले ६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरुको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास व्यक्त गरे । प्रशिक्षण कार्यक्रममा सो विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरु सहभागी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.