१५ भदौ,विराटनगर । प्रदेश १ सरकारले संविधान दिवसको दिन पारेर आगामी असोज ३ गते प्रदेशका विभिन्न महत्वपूर्ण स्थानमा ठूला आकारको राष्ट्रिय झण्डा राख्ने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशका विभिन्न महत्वपूर्ण स्थानहरु इलामको कन्याम र श्रीअन्तु, झापाको दमक, काँकडभिट्टा र केचना, सुनसरीको इटहरी, कोशी ब्यारेज र धरान, मोरङको विराटनगर एयरपोर्ट र विराटनगर रानी, सोलुको लुक्ला, सगरमाथाको बेसक्याम्पलगायतका स्थानमा राष्ट्रिय झण्डालाई ठूलो आकारको स्थायी रुपमा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।
यस्तै बैठकले स्पेनको राजधानी मेड्रिटमा आगामी सेप्टेम्बर २७ बाट सुरु हुने एक्स्पोटुरलमा मुख्यमन्त्रीको नेतृत्वमा ६ सदस्यीय टोली भ्रमणमा जान स्वीकृति प्रदान गरेको कार्कीले जानकारी दिए । यस्तै बैठकले सुनसरीको इटहरीको चोकबाट पूर्व पश्चिम राजमार्गमा दुईवटा आकाशे पुल निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ ।
बैठकले प्रदेशसभा सचिवालय र प्रदेश लेखानियन्त्रण कार्यालयका कर्मचारीलाई खाना, खाजा तथा प्रोत्साहन सुविधा दिने निर्णय पनि गरेको छ । बैठकले धनकुटामा आदिवासी जनजाति संग्रहालय स्थापना गर्न आर्थिक सहयोग गर्ने सामाजिक विकास मन्त्रालयको प्रस्ताव र जनतासँग मुख्यमन्त्री कार्यक्रम संचालन कार्यविधि २०७६ पनि पारित गरेको मन्त्री कार्कीले जानकारी दिए ।