१९ भदौ, भरतपुर ।
नेपालबाट राजसंस्था हटाउन भारतीय गुप्तचर संस्था ‘रअ’ ले नेपाली नेता प्रयोग गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आरोप लगाएका छन् ।
बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले ‘रअ’अले तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रयोग गरी राजसंस्था हटाउन षडयन्त्र गरेको भन्दै यस विषयमा छानबिन हुनुपर्ने माग समेत गरेका छन्।
यो सामान्य विषय नभएको भन्दै उनले यस विषयमा सर्वदलीय उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी सत्यतत्थ्य पत्ता लगाउन माग गरे । एउटा विदेशी गुप्तचर संस्थाले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तनमा निर्णायक भूमिका खेल्नु र त्यसमा राजनीतिक दलका नेता प्रयोग हुनु निकै संवेदनशील र गम्भीर विषय भएको उनले टिप्पणी गरे।
दुई तिहाई बहुमतको सरकारले दुई वर्ष पुग्दा पनि जनतालाई सकारात्मक परिवर्तनको अनुभूति दिलाउन नसकेको भन्दै उनले देशमा राजनीतिक परिवर्तन पछि जनताको अभिमत विना नै धर्म निरपेक्ष लागू गर्नु त्रुटि भएको बताएका छन्। पछिल्लो समय देश भयानक धार्मिक द्वन्द्वमा फस्ने खतरा बढ्दै गएकोतर्फ उनले सचेत गराएका छन्।