२२ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजनीतिक दल र बिद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् ।
नेकपाका विदेश विभाग प्रमुख समेत रहेका नेता नेपालले भारतको संलग्नतामा सो १२ बूँदे समझदारी भएको भन्ने भनाईको कडा प्रतिवाद पनि गरे ।
लक्ष्मण पन्तद्धारा लिखित ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै उनले तत्कालीन सात राजनीतिक दल र बिद्रोही माओवादीसँग १२ बूँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत नगरिएको स्पष्ट पारे ।
सो समझदारीका लागि तत्कालीन माओवादी बिद्रोहका सुप्रिम कमाण्डर पुष्पकमल दाहाललाई सहभागी गराउन आफ्नो नै मुख्य भूमिका रहेको पनि नेता नेपालको भनाई छ । नेता नेपालले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि दाहाल सो समझदारीका लागि दिल्ली आएको पनि खुलासा गरे ।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि आफूले टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको नेता नेपालले बताए । सो तथ्य पुस्तकमा नआएकोमा नेता नेपालको असन्तुष्टि पनि छ ।
नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र बिद्रोही माओवादीको तर्फबाट डा. बाबुराम भट्टराईले सो १२ बूँदे समझदारीका लागि खेस्रा तयार पारेको पनि बताए ।
वरिष्ठ नेता नेपालले भारतको परामर्शमा तत्कालीन बिद्रोही माओवादीसँग दिल्लीमा १२ बूँदे समझदारी नभएको यस अघि पनि बताए ।
ट्वाईलेट भित्र गएर कसैले भारतका कुनै पनि नेतासँग टेलिफोन संवाद गरेको भए आफूलाई थाहा नभएको तर सो सम्बन्धमा भारतसँग कुनै पनि परामर्श नगरिएको नेता नेपालको स्पष्टिकरण छ ।