२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले विकासको बैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले मुलुकको विकासकालागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिडेका साम्यवादी बाटोले पनि नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताएका हुन् ।
स्वर्गीय वीपी कोइरालाले विकास गर्दा सधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरा बताउदै आएको स्मरण गर्दे उनले वीपीले देखाएको बाटोमा हिड्न आग्रह गरे ।
विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भईरहेको भन्दै उनले अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरे ।
त्यस्तै सांसद अनिलकुमार झाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा उद्धार, राहत र पुर्नस्थापनाको काम प्रभावकारी रुपमा संञ्चालन गर्नका लागि तत्काल विपद व्यवस्थापन प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रत्येक बर्ष प्रदेश नम्बर २ मा बाढी र डुबानबाट ठूलो क्षति हुने गरेको भन्दै उनले त्यसको दोष छिमेकीलाई लगाउनुको सट्टा पूर्व तयारी लगायतको आवश्यक वन्दोबस्तीको काम गर्नका लागि तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए ।
सांसद रंगमति शाहीले शान्ति सुरक्षा, राजश्व असुली, जनताका न्यूनतम आधारभूत आवश्यकताको सर्वसुलभ आपुर्ति लगायत कुनै पनि क्षेत्रमा सरकार प्रभावकारी रुपमा उपस्थिति जनाउन नसकेको टिप्पणी गरिन् ।
साईकलमा स्याउ बेच्नेलाई कर लगाउने सरकारले एनसेल संग कर असुली गर्न नसकेको आरोप पनि उनले लगाइन् ।