१ असोज, विराटनगर ।
संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको एउटा जीप मंगलबार राति अक्करको भीरबाट अरुण नदीमा खस्दा एकै परिवारका तीन जनासहित ६ जना बेपत्ता भएका छन् ।
खाँदबारी नगरपालिका ९ का संगम श्रेष्ठको ३ बर्षिय छोरा बिरामी भएर उपचारका लागि धरान ल्याउने क्रममा जिल्लाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट जिप अरुण नदीमा खसेर वेपता भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
को १ ज ३७४९ नम्बरको बोलेर जीप सीधै अरुण नदीमा खसेर बेपत्ता भएको ट्राफिक प्रहरी निरिक्षक राजेश राईले बताए ।
बेपता हुनेमा जिपमा सवार एकै परिवारका संगम श्रेष्ठ उनकी श्रीमती र ३ बर्षिय छोरा रहेको ट्राफिक प्रहरी निरिक्षक राईले बताए । त्यसैगरी चालक सन्तोष विक बेपता भएका छन अन्य बाँकी दुई जनाको परिचय खुल्न नसकेको ट्राफिक प्रहरी निरिक्षक राईले बताए ।
जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै प्रहरीको टोली परिचालित भएको थियो । तर केही दिनदेखिको वर्षाले उर्लिएको अरुणमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको बताइएको छ ।