१ असोज, काठमाडौंं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद् भवनको शिलान्यास गरेका छन् ।
बुधबार प्रधानमन्त्री ओलीले भवन निर्माणस्थलमा पूजापाठसहित भवनको शिलान्यास गरेका हुन् । प्रधानमन्त्रीसहित प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र नेकपाका उपनेता,पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ पनि शिलान्यासमा पुगेका थिए ।
शहरी विकास मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ । आफ्नै भवन नहुँदा हाल संघीय संसद् भवन भाडामा छ ।