४ असोज, विराटनगर ।
विश्वभर शनिबार अल्जाइमर्स दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । अबको ३० वर्षमा विश्वमा १५ करोड भन्दा धेरै मानिसलाई बिर्सने रोग अर्थात ‘डिमेन्सिया’ हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।
डब्लूएचओले सन् २०५० सम्ममा विश्वमा १५ करोड २० लाख मानिसमा डिमेन्सिया हुने देखाएको हो । सन् २०१८ को विश्व अल्जाइमर्स तथ्याङ्कले विश्वमा प्रत्येक तीन सेकेण्डमा एक व्यक्तिमा डिमेन्सिया भैरहेको देखाएको छ ।
सन् २०१७ को तथ्याङ्कले विश्वमा ५ लाख मानिसमा डिमेन्सिया भएको देखाएको थियो । बिर्सने रोग अल्जाइमर्स डिमेन्सियाको एउटा सामान्य रुप हो । अल्जाइमर्स भएपछि व्यक्तिले सुरुमा भर्खरै गरेका काम बिर्सन थाल्ने डाक्टरले बताएका छन् ।
सुरुमा भर्खरै गरेको काम बिर्साउने यो रोगले भविष्यमा सबै कुरा बिर्सेर दैनिक क्रियाकलाप नै गर्न नसक्ने अवस्थामा र्पुयाउने गर्छ ।अल्जाइमर्स भएपछि व्यक्तिले सिकेका सबै सीप बिर्सँदै गएर दैनिक जीवन चलाउन नै समस्या हुने चिकित्सकहरु बताउछन् ।
बिर्सने रोग भिटामिनको कमी, डिप्रेशन, लामो समय जाँडरक्सी खाने व्यक्ति, परिवारबाट माया नपाउने र उमेर ढल्किँदै गएपछि लाग्ने चिकित्सकहरुको भनाई छ । सुत्न नसक्नु वा निन्द्रा कम लाग्नु पनि अल्जाइमर्सको लक्षण हो ।
सुरुमा के कारणले रोग लागेको हो भन्ने थाहा पाउन सके डिमेन्सियाअन्तर्गत पर्ने बिर्सर्ने रोग मध्य केही केहीको भने उपचार सम्भव छ । यो रोग निको नहुने भए पनि अल्जाइमर्स भएका व्यक्तिलाई विभिन्न काममा लगाएर भुलाउन चिकित्सकहरुकोे सुझाव छ ।