कमल थापाले उचाले दोहोरो उपाधि

कमल थापाले उचाले दोहोरो उपाधि

८ असोज,कास्की ।
नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआईसी एसिया बैंक नेपाल आईटीएफ विश्व वरीयता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसिपमा दोहोरो उपाधि जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले पोखरा रङ्गशालाको टेनिस कोर्टमा बुधबार भएको ५५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा भारतका सञ्जय कुमारलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरी उपाधि हात पारेका हुन् ।

त्यसैगरी थापाको जोडीले ५५ वर्षमाथिकै उमेर समूहको युगल तर्फको समेत उपाधि जितेको छ । थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई ११–९ को सेटमा पराजित गरी उपाधि जितेको हो ।

च्याम्पियनसिपको ३५ वर्षमाथिको उमेर समूहको उपाधि भने धरमबहादुर लामिछाने र विमलकुमार गुरुङको जोडीले गोपी भट्टराई र शरन गुरुङको जोडीलाई पहिलो सेट ६–४, दोस्रो सेट ५–७ र अन्तिम सुपरटाई १०–६ मा पराजित गरी उपाधि जितेका छन् ।

३५ वर्ष माथिको उमेर समूहको उपाधि भने विकास गुरुङ तथा ४५ वर्ष माथिको उमेर समूहको उपाधि विमलकुमार गुरुङले जितेका हुन् ।

च्याम्पियनसीपमा ३५ वर्षमाथिको उमेर समूहमा १० जना, ४५ वर्षमाथिको उमेर समूहमा २२ जना तथा ५५ वर्ष माथिकोे प्रतिस्पर्धामा २० जनाले वरीयता प्राप्त गर्ने अङ्कको लागि प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक प्रिति बरालले जानकारी दिए।

विजेता खेलाडीलाई एनआईसी एसिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा, नेपाल टेनिस सङ्घका पूर्व अध्यक्ष मनोज राणालगायतले ट्रफी वितरण गरेका थिए ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.