ओली नै ५ वर्ष प्रधानमन्त्री : प्रचण्ड

ओली नै ५ वर्ष प्रधानमन्त्री : प्रचण्ड

विराटनगर, फागुन ८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली नै पाँच वर्षसम्म प्रधानमन्त्री हुने सहमति भएको स्पष्ट पारेका छन् । अध्यक्ष दाहालले दुई पार्टीबीच एकता भइसकेको दाबी गर्दै निर्वाचन आयोगमा दर्ता गरेपछि मात्रै त्यसले बैधानिकता पाउने पनि स्पष्ट पारे ।

पार्टी एकीकरण गर्ने आधारमा सहमति गरेकै भोलिपल्ट आज गृहजिल्ला चितवन पुगेका दाहालले स्थानीय संचारकर्मीमाझ एक हप्ताभित्र दुवै पार्टीको केन्द्रिय कार्य समिति भंग गरी नयाँ कार्यसमिति गठन गर्ने सहमति भएको पनि जानकारी दिए ।

अध्यक्ष दाहालले पार्टी महाधिवेशन नभएसम्म पार्टीको अध्यक्षता ओली र आफूले आलोपालो गरी गर्ने प्रणाली अवलम्बन हुने पनि बताए । उनले अन्तराष्ट्रिय रुपमा स्थापित मान्यता तथा पार्टी एकताको आवश्यक्ता, चाहना र दुवै पार्टीका कार्यकर्ताको भावनाअनुसार एकीकृत पार्टीको अध्यक्षता आलोपालो प्रणालीबाट गर्ने निर्णय लिइएको तर्कसमेत गरे ।

सोमबार साँझ एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने ७ बुँदे आधारमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने उल्लेख गरिएको छ । पार्टीको विधान र संगठनात्मक संरचनाका विषयमा सहमति भएपछि २ पार्टीबीच एकताको औपचारिक घोषणा गरिनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.