२२ असोज, सप्तरी ।
सप्तरीमा कुटपिटबाट एक बृद्धको हत्या भएको छ ।
महादेवा गाउँपालिका–१ का ६२ वर्षीय मोहम्मद गफुर पमरियाको आफ्नै श्रीमती र छोराले कुटेर हत्या गरेका हुन् ।
कुटपिटबाट ६२ वर्षीय मोहम्मद गफुर पमरियाको ज्यान गएपछि फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
आइतबार राति रक्सी खाएका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मोहम्मद गफुर पमरियाको मृत्यु भएको बताइएको छ ।
गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मोहम्मद इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए।
आरोपित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।