२५ असोज,धनुषा ।
धनुषामा नक्कली घुमुवा प्रहरी पक्राउ परेका छन् ।
घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई ठग्ने मिथिला विहारी नगरपालिका–१० ठेराका २७ वर्षे विश्वनाथ साह रहेको धनुषा प्रहरीले जनाएको छ ।
साहलाई शुक्रबार बेलुका पक्राउ गरिएको हो । धनुषाको विदेह नगरपालिका–९ इटहर्वा स्थित सशस्त्र प्रहरी गणबाट सहायक प्रहरी निरीक्षक सुरेन्द्र कुमार झाको कमाण्डमा खटेको टोलीले उनलाई पक्राउ गरेको हो ।
सिमावर्ती क्षेत्र भारतबाट आउने सर्वसाधारणहरुलाई आफू सादा पोशाकको प्रहरी रहेको भन्दै जाँच गर्ने गरेको र पैसा ठग्ने कार्य गर्दै आएको अवस्थामा साहलाई पक्राउ गरिएको छ ।
पक्राउ परेको साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखी थप अनुसन्धान थालेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् ।