एजेन्सी, असोज २५
दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको हो ।
अध्ययनका अनुसार सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको पत्ता लागेको हो।
विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ।
आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ।
त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन्। अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने सुझाव पनि दिएका छन्।