२८ असोज, काठमाडौँ ।
चलचित्र ‘बादशाह जुट’र मुस्लिम समुदायबीच सहमती भएसँगै चलचित्र माथिको विवाद टुङ्गिएको छ ।
कार्तिक १५ मा रिलिज हुने सो चलचित्रको ट्रेलरमा राखिएका केही दृश्यले मुस्लिम समुदायमा आँच पुर्याएको भन्दै नेपाल मुस्लिम संघ, गण्डकी प्रदेश कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेको थियो ।
तत्पश्चात सोमबार ‘बादशाह जुट’ निर्माण कम्पनि एच एण्ड बी फिल्मस् प्रालिले जारी गरेको विज्ञप्तिमा संघका अध्यक्ष समिम मियाँ अन्सारीसँगको छलफलमा आवश्यक दृश्य सच्याउने सहमति भएको बताइएको छ ।
यसअघि संघका गण्डकी प्रदेशका सभापति शाह मोहम्मद मियाँले जारी गरेको उक्त विज्ञप्तिमा चलचित्रको ट्रेलरलाई सामाजिक संजालबाट हटाउन निर्देशन दिइएको थियो । संघको विज्ञप्ति जारी भएको दुई दिन पछि आपसी छलफलमा विवाद टुंगिएको हो ।
निर्माण पक्षले सुमदायको चित्त दुखाईप्रति पनि माफी मागेको छ । साथै मुस्लिम समुदायले अनुमान गरेको दृश्य चलचित्रमा नरहेको पनि निर्माण पक्षको दाबी छ ।
सेन्सर बोर्डले समेत जाँचपास गरेर पिजी सर्टिफिकेट दिएकाले आफ्नो सिनेमाले कुनै धर्म, जातजाति, समुदायलाई आँच पुर्याउने उद्येश्य नरहेको विज्ञप्तिमा उल्लेख छ ।
ट्रेलरमा ३ सेकण्डदेखि बजेको अजानको अवाज, लगतै ८ औँ सेकेण्डमा देखाइएको हात–हतियार र १३ सेकण्डमा बज्ने आइ.एस.एसको आवाजले मुस्लिम समुदाममा ठेस पुगेको बताइएको छ ।
जोनी सिंह रानाले निर्देशन गरेको चलचित्रले आफुलाई बादशाह मान्ने दुई युवकको कथा पेस गर्छ । चलचित्रमा सुशील श्रेष्ठ, आमिर गौतम, रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ ।
अभिषेक शशी कुमारको लेखनमा निर्मित चलचित्रमा राजु कार्कीको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।
एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा हर्क बहादुर कुँवर .पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।









