मान्छे बोक्ने मान्छेको कथा: पाथिभरा मन्दिर दर्शन गराएर मासिक १ लाख कमाइ

मान्छे बोक्ने मान्छेको कथा: पाथिभरा मन्दिर दर्शन गराएर मासिक १ लाख कमाइ

२९ असोज, काठमाडौँ ।

 ताप्लेजुङका २६ वर्षीय तेन्जे शेर्पाले ४ वर्ष अघि पाथिभरा मन्दिर दर्शन गर्न गएका थिए । त्यहाँ भक्तजनहरुको विजोक देखेर उनले भरियाको काम गर्ने निधो गरे । त्यसपछि दर्शनार्थीलाई बोकेर तीर्थस्थल पाथिभरा मन्दिरसम्म पुर्याउने काम शुरु गरे । अहिले उनले हिडेर पाथिभरा मन्दिरसम्म पुग्न नसक्ने दर्शनार्थीहरुलाई काफ्लेपाटीदेखि करिब तीन घण्टाको पैदल दूरीमा पर्ने मन्दिरमा पुर्याएर दर्शन गराई पुनः काफ्लेपाटीसम्म ल्याइदिने गरेका छन् ।

उनले साना बच्चादेखि ९५ केजी तौल भएका दर्शनार्थीलाई बोकेर ओहोर दोहोर गराएका छन् । कहिले काँही ४-५ मिलेर पनि धेरै तौल भएका दर्शनार्थीलाई बोक्ने गरेका छन् । सिजनका बेला एकै दिनमा १५ देखि २० हजारसम्म पनि कमाई हुने गरेको उनले बताए । महिनामा १ लाखसम्म बचत गरेको उनले सुनाए ।

चैतदेखि जेठ र भदौदेखि मंसिरसम्मको ५ महिना मात्रै मान्छे बोक्ने काम गर्ने र बाँकी समय काठमाडौंमा रङ लगाउने काम गर्छन् उनी । सवारी साधनबाट काफ्लेपाटीमा आएर ओर्लिएपछि हिँड्न नसक्नहरुले पहेँलो पोशाकका भरियाहरुलाई खोजने गरेका छन् । उनले भने–‘हामीले किलोको १८० रुपैयाँमा मान्छे बोकेर मन्दिर दर्शन गरार्इ काफ्लेपाटी ल्याइदिने गरेका छौँँ । हिँड्न नसक्ने वृद्धवृद्धा र बालबालिकाहरुलाई पिठ्युमा बोकेर लाने ल्याउने गर्छौँ ।’

दशैँका बेला दर्शनार्थीको घुइँचो लाग्ने भएकाले पहेँलो पोशाकमा दर्शनार्थी बोक्ने भरियाहरुले मान्छे बोकेरै रोजिरोटी चलाइरहेका छन् । ६ वर्ष अघि स्थानीय होटल व्यवसायी र सुरक्षा निकायले छलफल गरी हिँड्न नसक्ने दर्शनार्थीलाई बोकेर लाने ल्याउने गर्ने व्यवस्था गरेको हो ।

पाथीभरा मन्दिर पुग्न काफ्लेपाटीदेखि तीन घण्टा बढी समय उकालो बाटो हिँड्नुपर्छ । पाथीभरा मन्दिर ३ हजार ७९४ मिटरको उचाइमा रहेकाले उच्च क्षेत्रको उकालो चढ्न बालबालिका, वृद्धवृद्धा र हिड्ने बानी नभएकाहरुलाई कठिन हुन्छ । यसरी उकालो चढ्न नसक्नेहरुलाई बोकेरै पाथीभरा मन्दिरसम्म लैजाने ल्याउने गरिन्छ । अहिले त्यस क्षेत्रमा दुई सय बढी भरिया छन् । उनीहरु सबैले नम्बरसहितका पहेँलो पोशाक लगाएका छन् ।

पाथीभरा मन्दिरमा वडा दशैँको नौरथा लागेसँगै दर्शनार्थीको चाप बढ्छ । वर्षका बाह्रै महिनामा दर्शनार्थी पुग्ने पाथीभरामा विशेष गरी दशैँका बेला सबैभन्दा धेरै दर्शनार्थी पुग्ने गरेका छन् । वार्षिक ५ लाख बढी दर्शनार्थी मन्दिरमा आउने गरेका पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले जनाएको छ । छिमेकी देशहरुबाट समेत दर्शनार्थी आउने गरेका छन् ।

हिँड्न नसक्ने दर्शर्थीलाई प्रतिकिलो १८० रुपैयाँ वा दुवै पक्षको समझदारी अनुरुप भाडा लिई लैजाने ल्याउने गरिएको पाथीभरा क्षेत्र विकास समितिका भरिया व्यवस्थापक डिल्लीराम भट्टराईले बताए । उनका अनुसार यो सेवा भरपर्दो तथा सुरक्षित बनाउन प्रहरी र होटल व्यवसायीले मिलेर निगरानी गर्ने गरेको बताए । भरियाले केही तलमाथि गर्लान भनेर जाँदा–आउँदा फेदीमा रहेको प्रहरी चौकीमा समेत रेकर्ड राखिने गरेको बताए ।

मन्दिर जाँदा ३ घन्टामा नै हिडेर पाथीभरा पुगेकी काभ्रेकी मञ्जु सापकोटाको खुट्टामा समस्या आएपछि भरिया खोजिन् र माथिलो फेदिसम्म ३ हजार तिरेर भरियालाई बोकाएर आइन् । उनले भनिन्–‘मन्दिर आउँदा बोक्न लगाउनु राम्रो हैन, तर मेरो केहि महिना अघि खुट्टा भाँच्चिएको थियो, त्यहि कारणले मन्दिरबाट माथिल्लोफेदी आउन सकिन र भरियाको प्रयोग गर्ने निदो गरेको बताइन् । (विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.