४ कार्तिक, एजेन्सी ।
जम्मू–कश्मीरसँग जोडिएको भारत–पाकिस्तान सीमा क्षेत्रको नियन्त्रण रेखामा शनिबार रातिदेखि भिडन्त शुरु भएको छ।
सीमा क्षेत्रमा भारत र पाकिस्तानका सुरक्षाकर्मीबिच भएको भिडन्तमा कम्तिमा १५ जनाको ज्यान गएको जनाइएको छ । गुण्डिशत गाउँ र तंगधारमा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा आफ्ना दुई सुरक्षाकर्मी र एकजना सर्वसाधारणको ज्यान गएको भारतीय सेनाले जनाएको छ ।
अन्य तीनजना घाइते भएका छन् । मारिनेमा नेपाली मुलका भारतीय सैनिक छन् । झडपमा मारिने भारतीय सैनिकको नाम पदम बहादुर श्रेष्ठ र गामिलकुमार श्रेष्ठ रहेको छ ।
युद्धविराम उल्लंघन गरी पाकिस्तानले भारतीय क्षेत्रमा आतंकवादीको घुसपैठ गराएको भारतीय सेनाले जारी गरेको बयानमा दाबी गरिएको छ । आफूहरुले गरेको जवाफी कारवाहीमा चरपन्थी अखडालाई निशाना बनाइएको भारतीय स्थल सेनाका प्रमुख विपिन रावतले बताएका छन् ।
सो कारवाहीको क्रममा ६ देखि १० पाकिस्तानी सैनिक मारिएको उनले दाबी गरेका छन् । तीनवटा क्याम्प पनि ध्वस्त पारेको जनाएका छन् । यस्तै सो कारवाहीको क्रममा पाकिस्तानी सीमा क्षेत्रमा ६ देखि १० चरमपन्थी पनि पारिएको उनले दाबी गरेका छन् ।
