सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने २७ जनालाई सेनाले कारबाही गर्ने

सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने २७ जनालाई सेनाले कारबाही गर्ने

६ कात्तिक, काठमाडौं ।
सैन्य भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने २७ जनालाई नेपाली सेनाले कारबाही प्रक्रिया अघि बढाएको छ ।

५ हजार ८ सय सैन्य पदको लागि ४० भर्ना केन्द्रमा भर्ना छनोट प्रक्रिया भैरहेको समयमा अनियमितता गरेका उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।

जसमध्ये ४ जना सैनिक र २३ जना गैर–सैनिक रहेका छन् । नक्कली परिचयपत्र बनाइ किर्ते गरेको अभियोगमा उत्तर पश्चिम पृतना हेडक्वाटरबाट ३ जना, आर्थिक लेनदेन गरेको अभियोगमा ५ नम्बर बाहिनी अड्डा कैलालीबाट १ जना, नक्कली परीक्षार्थी ९ जना र नक्कली परीक्षार्थी पठाउने ६ जना पक्राउ परेका छन् ।

यस्तै, सैन्य भर्ना केन्द्र २४ नम्बर बाहिनी अड्डा जुम्ला र ५ नम्बर बाहिनी अड्डा कैलालीमा नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने ४ जना र अरु ३ वटा भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको अभियोगमा ४ जना गैर सैनिकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ ।

गएको साउन १३ गते सूचना निकालेर नेपाली सेनाले भर्ना छनोट प्रक्रिया सुरु गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.