१४ कात्तिक, एजेन्सी । दक्षिणी जापानको ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत सुरी महल आगलागीबाट ध्वस्त भएको छ ।

पाँच सय बर्ष पुरानो महलको मुख्य भाग जलेर नष्ट भएको छ । बिहीबार विहानै भएको आगो नियन्त्रण गर्न ठूलो संख्यामा अग्नी नियन्त्रक खटाइएको छ ।

आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाँच सय वर्षअघि जापानको रुक्यु राजवंशले यो महल निर्माण गराएको थियो । काठै–काठले बनेको महललाई जापानले सन् १९३३ राष्ट्रिय सम्पदा घोषणा गरेको थियो । तर दोस्रो विश्वयुद्धका क्रममा यो महल क्षतिग्रस्त भएको थियो ।

ध्वस्त भएको महललाई पुनर्निर्माण गरेर अहिलेको अवस्थामा ल्याइएको थियो । स्थानीय संचारमाध्यमले महलको उत्तरी र दक्षिणी भाग डढेर खरानी भएको बताएका छन् । महल जापानको एक महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा परिचित थियो ।

