२० कार्तिक, पर्सा । १४ वर्षीय बालकलाई अपहरण गर्ने पोखरिया नगरपालिका ६ को सोनवारीका २० वर्षीय राजकुमार दासलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
बुधबार बिहान अपहरित बालकका बुवासँग फिरौती रकम लिएर भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरी उनलाई पक्राउ गरेको थियो । गोली प्रहारबाट घाइते भएका उनको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भैरहेको छ ।
वीरगञ्ज उपमहानगरपालिका २५ सिर्सिया घर भइ काभ्रेको बनेपामा बस्दै आएका अमजद खानको छोरालाई दासले अपहरण गरेका थिए । खानका १४ वर्षीय छोरा बनेपाबाट वीरगञ्ज आउने क्रममा गएको कात्तिक १० गते अपहरणमा परेका थिए ।
अपहरणकारीले ती बालकले प्रयोग गर्ने मोबाइल प्रयोग गरेर बालक अपहरण भएको सूचना दिँदै फिरौतीका लागि १२ लाख रुपैयाँ माग गरेका थिए । फिरौती रकम नदिए बालकको हत्या गर्ने धम्की पनि दिएका थिए ।
बुधबार बिहान वीरगञ्ज महानगरपालिका २५ सिर्सियाको खलवा टोलमा फिरौती रकम लिन अपहरणकारी आएका थिए । अपहरणकारीले पेस्तोल देखाइ पैसाको झोला लिएर भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिनुपरेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् ।

अपहरणकारीको दाहिने खुट्टाको घुँडामुनिको भागमा गोली लागेर घाइते भएको र अपहरित बालक अज्ञात ठाउँबाट सकुशल उद्धार गर्न सफल भएको उनले बताए । प्रहरीले अपहरणकारीको साथबाट भारतीय नम्बर प्लेटको प्लाटिना मोटरसाइकल, कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने ४ वटा गोली र मोबाइल एक थान बरामद गरेको छ ।
