वेदव्यासको एक सय आठ फिट मूर्तिको डिपिआर तयार

२२ कात्तिक ७६, शुक्रबार
Share this
779shares

२२ कात्तिक, झापा ।

Advertisement

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको वेदव्यासको १०८ फिट मूर्ति निर्माणका लागि बजेट अभाव भएको छ । व्यासभूमि दमौलीमा निर्माण गर्न लागिएको १०८ फिट मूर्तिको काम बजेट अभावमा प्रभावित भएको छ ।

डिपिआर तयार भइसके पनि बजेट अभावमा मूर्ति निर्माणको कामलाई अगाडि बढाउन नसकिएको व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष तनहुँका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

“मूर्ति निर्माणका लागि डिपिआर तयार, मूर्तिको आकारको टुङ्गो र स्थानीयवासीसँग एक चरणको छलफल सम्पन्न भइसक्यो”, श्रेष्ठले भने, “कोषसँग बजेट नहुँदा मूर्ति निर्माणको कामलाई अगाडि बढाउन सकेका छैनौँ ।”

कोषको एकल प्रयासले मात्रै मूर्ति निर्माण सम्पन्न गर्न नसकिने भएकाले तीन तहको सरकारलाई मूर्ति निर्माणमा सहयोग गर्न आग्रह गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Advertisement

“व्यासभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित मूर्ति निर्माणको कामलाई अगाडि बढाउन खोजिएको हो”, श्रेष्ठले भने, “स्थानीय, प्रदेश र सङ्घीय सरकारले पनि मूर्ति निर्माणका लागि बजेट उपलब्ध गराउनुपर्छ ।”

श्रेष्ठका अनुसार मूर्ति निर्माणका लागि स्थानीयवासीबाट सहयोग उठाउन महायज्ञ गर्ने बारेमा छलफल भइरहेको छ । “स्थानीयस्तरबाट सहयोग सङ्कलन गर्न यही वर्षभित्रै महायज्ञ आयोजना गर्ने सोचेका छौँ”, श्रेष्ठले भने, “महायज्ञबाट कति सङ्कलन हुन्छ त्यसपश्चात् थप बजेट जुटाउन लागि पर्छौं ।”

श्रेष्ठका अनुसार मूर्ति निर्माणका लागि व्यास नगरपालिकाले चालू आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको छ ।

व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करीब रु ७० लाख सङ्कलन भएको थियो ।

उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिएको कोषका महासचिव विष्णुभक्त सिग्देलले बताए ।

व्यास मूर्तिसहित सबै संरचना निर्माणका लागि रु ६२ करोड ८५ लाख पाँच हजार २११ बजेट लाग्ने अनुमान गरिएको छ । अर्थक्वेक सेफ्टी सोलुसन्सले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान छ ।

निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु सात करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ ।

पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यासमूर्ति निर्माणका लागि ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ( भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ ।

गुरुयोजनाअनुसार व्यासको मूर्तिका अतिरिक्त प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ ।

यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ । महर्षि व्यासको जन्मकहानी प्रतिविम्बित गराउने सेतीमादी दोभानको अवधारणा, अमर व्यासको चित्रण र गुरुपूर्णिमाको महत्व झल्काउने अखण्ड बत्ती, व्यासले प्रदान गरेका शिक्षा, सिकाइ झल्काउने वेद व्यासपार्क, राति सत्यवतीको महत्व झल्काउने मत्स्यगन्धा पार्कलगायतलाई आधार मानेर गुरुयोजना तयार गरिएको बताइएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top