१० मंसिर, काठमाडौँ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समूह(RIT)मा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर खड्का कार्तिक महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका छन् । खड्काले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
खड्काले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही बम बिष्फोटनको घटना घटाउने फरार अभियुक्तलाई कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति दिलाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश भरिका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वाेत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वाेत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिँदै आएको छ ।