१८ मंसिर, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपनिर्वाचनको समिक्षा रिपोर्ट केन्द्रीय कमिटिमा पेश गर्न सम्बन्धित कमिटिहरुलाई निर्देशन दिएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन भएका सम्बन्धित क्षेत्रका कमिटिहरुलाई निर्वाचनको समिक्षा गरेर पार्टी केन्द्रीय कार्यालयमा रिपोर्ट पठाउन निर्देशन दिएको हो ।
कमिटिहरुबाट प्राप्त रिपोर्टका आधारमा मंसिर २३ गते बस्ने बैठकमा औपचारिक छलफल गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उक्त बैठकमा पार्टीको संगठनात्मक एकताका विषयमा पनि छलफल हुने उनले बताए ।
आगामी सचिवालय बैठकले स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक बोलाउने विषयमा पनि छलफल गर्ने उनले बताए । नेकपाको स्थायी कमिटि र सचिवालय बैठक पार्टी एकतापछि एक पटक मात्रै बसेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा पनि जानकारी गराएका थिए ।
गत मंसिर ४ गते कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहालले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीसँग छलफल गरेर डाँकिएको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेल अनुपस्थित थिए ।