७ पुस, विराटनगर ।
प्रदेश १ मा नेपाल भ्रमण वर्षको उद्घाटन समारोहलाई भव्य बनाउन प्रस्तावित कार्यक्रमको खाका प्रस्तुत गरिएको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री तथा प्रदेश सरकारका मन्त्री,सचिव, पर्यटनसमितिका प्रतिनिधी,सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाहरुको सहभागितामा मुल समारोह व्यवस्थापन उपसमितीले प्रस्तावित कार्यक्रमको खाका प्रस्तुत गरेको हो ।
,संयोजक फणिन्द्र अधिकारीद्धारा प्रस्तुत प्रस्तावित खाकामा प्रदेशको नमुना झल्किने नमुना गीत र सामूहिक नृत्य प्रस्तुती, प्रदेशका मुख्य गन्तव्यहरुको वृत्तचित्र प्रस्तुत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट र विभिन्न विद्यालयका विद्यार्थीहद्धारा मार्चपास, विभिन्न जातजातिको भेषभुषा र संस्कृति झल्किने मौलिक झाँकी प्रर्दशन लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।
साथै भ्रमण वर्षको उद्घाटन कार्यक्रम गरिने विराटनगरको सहिद रंगशालाको सजावटको लागि प्रस्तावित थ्रीडी भिडियो पनि प्रस्तुत गरिएको छ । कार्यक्रममा प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले उद्घाटनमा सुरक्षाको जिम्मा मोरङ प्रहरीलाई, सजावट तथा सरसफाईको जिम्मा विराटनगर महानगरपालिकालाई दिने प्रस्ताव गरिएको जानकारी दिए । उनले जति पर्यटक भित्र्यायो त्यति आर्थिकरुपमा सबल हुने बताउँदै उद्घाटन समारोहमा धेरै मान्छेको बीचमा एक नम्बर प्रदेशका मुख्य गन्तव्यहरुको जानकारी दिन सके पर्यटक भित्र्याउन सहज हुने बताए ।
प्रस्तावित खाका परम्परागत भएकोले केही परिमार्जन गर्नुपर्ने मुख्यमन्त्री शेरधन राईले सुझाव दिएका छन । उनले पर्यटन वर्ष विदेशी पर्यटकलाई नेपाल चिनाउने मौका भएको बताउँदै संघीय सरकारले तोकेको १६ गन्तव्यबाहेक अन्य गन्तव्यको खोजी भईरहेको बताए । मन्त्री राईले सम्बन्धीत समितिलाई १ महिनाभित्र पर्यटन वर्षको बार्षिक कार्ययोजना पेश गर्न निर्देशन दिए । प्रदेश सरकारले पर्यटनका लागि १० वर्षको मास्टर प्लान प्रदेश सरकारले केही महिनामै पेश गर्ने जानकारी समेत दिए । उनले पर्यटकीय गन्तव्यका दृष्टिकोणले प्रदेश छायाँमा रहेको बताउँदै १० वर्षमा १ नम्बरमा ल्याउने गरी प्रदेश सरकारले काम गर्ने बताए ।
छिमेकी मुलुक भारतका मुख्यमन्त्रीलाई भ्रमण वर्षमा निमन्त्रणा गरिएपनि आउने सम्भावना न्युन रहेको प्रदेश सरकारले जनाएको छ । कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जिवकुमार राईले पर्यटन समिति बनेपछि भएका कामहरु प्रस्तुत गरेका थिए । त्यस्तै छलफलमा सहभागिले पर्यटकीय क्षेत्रको प्रचारमात्र नभएर व्यवस्थापन गर्नुपर्ने, भ्रमण वर्ष उद्घाटनको प्रस्ताव परम्परागत शैली जस्तो भएकोले परिमार्जन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।