२५ पुस, काठमाडौँ ।
१३ औं सागमा पदक विजेता खेलाडीहरुलाई सरकारले घोषणा गरेको पुरस्कार एक महिना बित्दा पनि पाएका छैनन् । नेपालले अहिलेसम्मकै ठूलो सफलता पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर घोषणा गरेको पुरस्कार एक महिनासम्म नआउँदा खेलाडीहरु निराश हुन थालेका छन् । घोषणा भएको महिना दिन बित्दा पनि घोषित पुरस्कार रकम नपाएपछि खेलाडी रुष्ट देखिएका हुन् ।
मंसिर २५ गतेको प्रधानमन्त्रीको घोषणामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ र कास्य जित्नेलाई ३ लाख घोषणा गरिएको थियो । यस्तै, एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रति स्वर्ण ११ लाख दिने भनिएको थियो । टिमतर्फ स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ५ लाखका दरले पुरस्कार दिने जनही पुरस्कारको व्यवस्था गरेको थियो तर सोही टिममा रजत र कास्य जित्नेलाई भने हालसम्म पनि केही व्यवस्था भएको छैन ।
यस विषयलाई लिएर कतिपय खेलाडी तथा प्रशिक्षक घोषणालगत्तै असन्तुष्ट थिए । करातेमा स्वर्ण पदक जितेकी कुसुम खड्का भन्छिन्, ‘खोई पाउने हो कि होइन ? सरकारले पुरस्कार घोषणा गरेको एक महिना भईसक्दा पनि अझै केही अत्तोपत्तो छैन ।’ त्यस्तै कातामा स्वर्ण जितेको महिला टोलीकी सदस्य संगीता मगर भन्छिन्, ‘अहिलेसम्म हामीले केही पाएका छैनौं ।’
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल खेलाडीलाई घोषित पुरस्कार दिने प्रक्रिया भइरहेको बताउँछन् । उनले भने, ‘पुरस्कार वितरणको पनि आफ्नै प्रक्रिया छ । हामीले मन्त्रालयमा पठाएका छौं । अर्थ मन्त्रालयले स्वीकृत गरेपछि वितरण हुन्छ ।’ त्यसभन्दा माथि गए नगएको आफूलाई थाहा नभएको उनले बताए ।
युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने खेलाडीलाई रकम दिने प्रक्रियामा रहेको बताउँछन् । उनले यसमा धेरै समय नलाग्ने पनि बताए । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जित्दै हालसम्मकै उच्च पदकको रेकडए राखेका छ ।