२८ पुस, विराटनगर ।
जन्मजात निधारमा निस्किएको मासुको डल्लोले अस्वभाविक रुपमा बढेर आँखा समेत छोपिएकी ५ बर्षीया उमिसा चौधरीले नयाँ अनुहार पाएकी छन । उदयपुरको बेलका नगरपालिका–३ रातापानी घर भएका चौधरी परिवारले उमिसालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याए । तर, त्यहाँ अप्रेशन हुँन नसक्ने भन्दै चिकित्सकले काठमाण्डौं लैजान सुझाव दिएपछि तत्काललाई उमिसाको उपचार यात्रामा पूर्णबिराम लागेको थियो ।
आर्थिक अभावले निधारमा रहेको मासुको डल्लो बढ्दै गएर दुबै आँखा छोपिदा उनलाई हेर्नसमेत समस्या भईरहेको थियो । तर, अहिले चौधरी परिवारको चिन्तालाई बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले खुशीमा बदलिदिएको छ । नोबेलमा निःशुल्क अप्रेशनको व्यवस्था मिलाईदा अहिले उमिसाको अनुहारको आकृति नै फेरिएको छ । चिन्ता र अन्यौलताकावीच उनको निःशुल्क अप्रेशन भएपछि चौधरी परिवारमा खुशीयाली छाएको छ ।
नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले सफल शल्यक्रिया गरेको हो । धेरै जटिल शल्यक्रियासमेत सफलतापूर्वक गरेर चर्चा कमाएका डा.काफ्ले नेतृत्वको टिमले शल्यक्रिया गरी उमिसाको निधारको डल्लो निकालेपछि अहिले उनी सामान्य अवस्थामा छिन् । अप्रेशन पश्चात अब पुनः डल्लो नपलाउँने डा.काफ्ले बताउँछन् ।
नोबेलले उदयपुरको बेलका स्थित रामपुरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा चौधरी परिवारले उमिसालाई ल्याएका थिए । शिविरमा जटिल शल्यक्रिया सम्भव नभएकाले अस्पताल ल्याएर उनको निःशुल्क शल्यक्रिया गरिएको नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बताईन् । उनका अनुसार करिव दुई लाख मूल्य बराबरको शल्यक्रिया एवं उपचार सेवा निःशुल्क गरिएको छ ।