२८ पुस, एजेन्सी ।
फिलिपिन्समा ज्वालामुखी बिस्फोट भएको छ ।
राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको ताल ज्वालामुखीबाट लाभा निस्कन थालेको हो । सोमबार बिहानैदेखि लाभा निस्कन थालेको स्थानीय अधिकारीले बताएका छन् ।
सरकारी अधिकारीलेहरुले अहिले सुस्त रहेको ज्वालामुखी केही घण्टा या दिनभित्र भीषण बिस्फोट हुने चेतावनी दिएका छन् । लाभा निस्कनुअघि सो ज्वालामुखीबाट ठूलो मात्रामा खरानी माथि उडेको थियो ।
अधिकारीहरुले ज्वालामुखी नजिक बसोबास गर्ने ८ हजार मानिसलाई सुरक्षित स्थानमा जान भनेका छन् । ताल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो । यो विश्वका साना ज्वालामुखी मध्येमा पर्छ र पछिल्लो ४५० वर्षमा कम्तिमा ३४ पटक बिस्फोट भएको छ ।
