२८ पुस, काठमाडौँ ।
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजनीतिक दलहरुले सभामुखको उम्मेद्वार तय गरेर घोषणा नगरुन्जेल सम्म राजिनामा नदिने बताएकी छिन् ।
सोमबार आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति र न्युज एजेन्सी नेपालका सम्बादाताहरुसँग कुरा गर्दै अहिले आफुले राजिनामा दिनु संविधानको व्यवस्था अनुसार गलत हुने बताइन् । संविधानले संघीय संसदको प्रतिनिधि सभा नेतृत्व विहिन हुने कल्पना नगरेकोले पनि आफुले राजिनामा दिन नहुने बताइन् ।
राजनीतिक दलहरुले जति छिटो सभामुख पदका लागि उम्मेदवार तयार गर्छन् त्यति नै बेला आफुले राजिनामा दिएर मार्ग प्रशस्त गर्ने पनि बताइन् । अहिले आफु कुनै राजनीतिक दलको सदस्य नभएकाले कुनैपनि दलको निर्देशन आफुमाथि लागू नहुने बताइन् ।
अहिले संसदमा देखिएको गतिरोध आफ्नो कारणले नभई दलहरुले निर्णय गर्न नसक्दाको परिणाम हो । संवैधानिक पदमा बसेको व्यक्तिले गैर–जिम्मेवार भएर प्रतिनिधि सभालाई नेतृत्व विहिन बनाउने पक्षमा आफु नरहेको पनि बताइन् ।