एजेन्सी, माघ २१
हङकङका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यो कोरोना भाइरसका कारण चीनबाहिर भएको मृत्युको अर्को घटना हो । यसअघि चीनको वुहानबाट फिलिपिन्स पुगेका एक चिनियाँ नागरिकको त्यहाँ उपचारका क्रममा ज्यान गएको थियो ।
क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो । साउथ चाइना मर्निङ पोस्टले हस्पिटलका अधिकारीलाई उद्धृत गर्दै मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको जनाएको छ ।
ज्यान गुमाउने व्यक्तिको परिचय भने खुलाइएको छैन । २१ जनवरीमा हुबेई प्रान्तको वुहानमा रहेका ती व्यक्ति त्यसको दुई दिनपछि गोन्जाउ–सेन्जन–हङकङ एक्सप्रेस रेल लिंकमार्फत हङकङ फर्किएका थिए । ३१ जनवरीमा उनमा ज्वरो आएको थियो । लगत्तै उनलाई कोरोनाको आशंकामा क्विन एलिजावेद हस्पिटलमा भर्ना गरिएको थियो । प
रीक्षणका क्रममा ती बिरामीमा कोरोना भाइरस भेटिएपछि प्रिन्सेस मार्गरेट हस्पिटलको छुट्टै वार्डमा सारिएको समाचारमा उल्लेख छ । समाचारमा जनाइअनुसार, कोरोनाको संक्रमणले मुटु फेल हुँदा ती व्यक्तिको ज्यान गएको हो । उनी आमासँगै हङकङको वामोपा गार्डेनमा बस्दै आइरहेका थिए । उनीबाटै आमामा पनि संक्रमण सरेको पाइएको छ ।
चीनको हुबेइ प्रान्तको वुहानमा देखिएको कोरोना भाइरस अहिले २२ देशमा फैलिएको छ । यसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार, यो भाइरसका कारण चीनमा अहिलेसम्म ४ सय २५ जनाको ज्यान गइसकेको छ । २० हजार ४ सय ३८ संक्रमित भएका छन् ।